दफा ३१
उपचार खर्च

(१) प्रधान न्यायाधीश वा न्यायाधीश विरामी भई चिकित्सकको प्रेस्क्रिप्सनमा रोगको निदान (डाइग्नोसीस) गरी उपचार गराउँदा लागेको देहायको खर्च निजले उपचार खर्च बापत पाउनेछः–

(क) अस्पतालमा भर्ना हुँदा र अस्पतालमा उपचार गराउँदा लागेको अस्पतालको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम खरिद गरेको औषधि खर्च,

(ख) अस्पतालमा भर्ना हुन नपर्ने वा भर्ना हुन नसकेको अवस्थामा वा अस्पतालमा भर्ना भई अस्पतालबाट निस्केपछि पनि रोगको उपचारको लागि कुनै चिकित्सक, कविराज वा वैद्यले जाँच गर्दा लिएको शुल्क तथा जाँच गरी लेखी दिएको प्रेस्क्रिप्सन अनुसार खरिद गरेको औषधि खर्च,

(ग) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अपरेशन) गर्दा लागेको बिल बमोजिमको खर्च,

(घ) चस्मा, दाँत, एअरफोन आदि उपकरणको लागि नेपाल सरकारले समय समयमा आदेश जारी गरी तोकिदिएको हदसम्मको रकमको लागेको बिल बमोजिमको खर्च,

(ङ) काठमाडौं उपत्यका बाहिर वा विदेशमा गई औषधि उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दाको र फर्कदाको विरामीको र कुरुवा चाहिने अवस्था भए एक जना कुरुवासम्मको यातायात खर्चको पूरै रकम र खाना खर्च बापत निजले पाउने दैनिक भत्ताको पचहत्तर प्रतिशत रकम ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक पटकमा पाँच सय रुपैयाँ भन्दा घटी खर्च भएकोमा उपचार खर्च दिइने छैन र कुल सेवा अवधिभर प्रधान न्यायाधीश वा न्यायाधीशले पाउने बाह्र महिनाको पारिश्रमिकभन्दा बढी रकमको उपचार खर्च दिइने छैन ।

(३) नेपाल सरकारद्वारा गठन भएको मेडिकल बोर्डले प्रधान न्यायाधीश वा न्यायाधीशलाई स्वदेशमा उपचार गराउन सिफारिस गरेमा स्वदेशमा उपचार गराउनको लागि र स्वदेशमा उपचार हुन नसक्ने भई विदेशमा उपचार गराउन सिफारिस गरेमा विदेशमा उपचार गराउनको लागि निजलाई उपदफा (१) बमोजिम पाउने उपचार खर्चको अतिरिक्त नेपाल सरकारले उपयुक्त ठह¥याएको रकम थप आर्थिक सहायता दिन सक्नेछ ।

(४) यस दफा बमोजिम पाउने उपचार खर्च लिन नपाउँदै प्रधान न्यायाधीश वा न्यायाधीशको मृत्यु भएमा त्यस्तो रकम दफा १६ को उपदफा (१) बमोजिमको व्यक्तिले लिन पाउनेछ ।

(५) यस ऐन बमोजिम पाउने उपचार खर्च प्रधान न्यायाधीश वा न्यायाधीशले पेश्कीको रूपमा लिन चाहेमा उपदफा (२) को अधिनमा रही पछि हिसाब बुझाउने गरी पेश्की दिन सकिनेछ र त्यसरी पेश्की लिएको रकम पछि हिसाब गर्दा उपचार बापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भए जति रकम प्रधान न्यायाधीश वा न्यायाधीशको पारिश्रमिकबाट किस्ताबन्दीमा कट्टा गरिनेछ ।

तर त्यसरी कट्टा गर्नु पर्ने रकम भुक्तानी नहुँदै प्रधान न्यायाधीश वा न्यायाधीशको मृत्यु भएमा कट्टा गर्न बाँकी रहेको रकम मिन्हा हुनेछ ।

(६) प्रधान न्यायाधीश वा न्यायाधीशको सगोलको पति वा पत्नी, आमा, बाबु वा सासू, ससुरा वा नाबालिग छोरा, छोरी विरामी भएमा उपदफा (२) बमोजिम पाउने अधिकतम उपचार खर्चको रकमबाट कट्टा हुने गरी सो रकमको आधासम्म बिल बमोजिम भएको उपचार खर्चको नब्बे प्रतिशत रकम प्रधान न्यायाधीश वा न्यायाधीशले लिन पाउनेछ ।

(७) उपदफा (६) बमोजिम उपचार खर्चको माग गर्दा रोगको निदान (डाइग्नोसिस) उल्लेख गरिएको चिकित्सकको प्रेस्क्रिप्शन पेश गर्नु पर्नेछ ।

(८) प्रधान न्यायाधीश वा न्यायाधीशको सगोलको पति वा पत्नी, आमा, बाबु वा सासू, ससुरा वा नाबालिग छोरा, छोरी विरामी भई विदेशमा गई उपचार गराउनु पर्दा वा स्वदेशमै अस्पताल भर्ना भई शल्यक्रिया वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेस्क्रिप्शन बमोजिम लागेको औषधि उपचारको खर्चको नब्बे प्रतिशत रकम उपदफा (२) बमोजिम प्रधान न्यायाधीश वा न्यायाधीशले पाउने रकममध्येबाट पाउनेछ ।

(९) उपदफा (६) र (८) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रधान न्यायाधीश वा न्यायाधीशको सगोलको पति वा पत्नी, आमा वा बाबु वा सासू वा ससुरा कुनै संवैधानिक पदमा वा सरकारी सेवामा वा सरकारी स्वामित्व वा नियन्त्रण भएको संस्थाको सेवामा बहालवाला कर्मचारी भएमा त्यस्तो व्यक्तिले उपचार खर्च पाउने छैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संवैधानिक पद” भन्नाले संवैधानिक निकायको प्रमुख वा पदाधिकारीको पद सम्झनु पर्छ ।

(१०) प्रधान न्यायाधीश वा न्यायाधीशले अवकाश प्राप्त गर्दा उपदफा (२) बमोजिम कुल सेवा अवधिभरमा पाउने उपचार खर्चमध्ये केही लिई वा नलिई उपचार खर्च बाँकी रहेको भए त्यस्तो बाँकी भए जति एकमुष्ट रकम प्रधान न्यायाधीश वा न्यायाधीशले अवकाश प्राप्त गरेपछि लिन पाउनेछ ।

(११) उपदफा (१०) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संवैधानिक पदमा, उच्च अदालत वा पुनरावेदन अदालतको न्यायाधीश पदमा वा सरकारी सेवा गरे बापत उपचार खर्च लिइसकेको प्रधान न्यायाधीश वा न्यायाधीशले अघि पाएको उपचार खर्च कट्टा गरी बाँकी रकम मात्र पाउनेछ ।

(१२) यस दफा बमोजिम उपचार खर्च माग गर्ने प्रधान न्यायाधीश वा न्यायाधीशले अदालतमा उपस्थित हुन नसक्ने गरी विरामी भएको अवस्थामा विरामी बिदा बाँकी भएसम्म विरामी बिदा नै माग गर्नु पर्नेछ ।

तर विरामी बिदा बाँकी नभएमा अरू बिदा माग गर्न वाधा पर्ने छैन ।

(१३) यस दफा बमोजिम प्रधान न्यायाधीश वा न्यायाधीशले पाएको उपचार खर्चको विवरण प्रधान न्यायाधीश वा सम्बन्धित न्यायाधीशको बिदाको अभिलेख र व्यक्तिगत अभिलेखमा जनाई राख्नु पर्नेछ ।